कांग्रेस गण्डकीको नेतृत्व चयनका लागि मतदान जारी, यस्तो छ मतदान स्थल वरपर प्रतिनिधि प्रभावित पार्ने प्रयास (फोटो फिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको १४ औंं महाधिवेशन अन्तर्गत आज प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी छ । उम्मेद्वार र तिनका समर्थकहरु प्रतिनिधि रिझाउन तल्लिन छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा स्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका लागि प्रदेशभरका १०८५ प्रतिनिधिले मतदान गर्दैछन् । मतदान स्थल बाहिर उम्मेद्वार समर्थकहरुले हुटिङसहितको उम्मेद्वारको पक्षमा नारावाजी गरिरहेका छन् ।

गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) ले प्यानलसहितको प्रतिस्पर्धामा छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ ।

संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन्। जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महत, शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी प्रतिस्पर्धामा छन् ।

महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डे, शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने प्रव्तिस्पर्धा गरेका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आले, शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे प्रतिस्पर्धामा छन् । सहमहामन्त्रीमा प्यानल बाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटा प्रतिस्पर्धामा छन् ।

  • १८ मंसिर २०७८, शनिबार ११:५६ प्रकाशित