काठमाडौं ।
अफगानिस्तानको विद्रोही समूह तालिबानले आफ्ना ‘सयौँ’ लडाकु पन्जशीर उपत्यकातर्फ गएको जनाएको छ । आइतबार राति तालिबानले लडाकु त्यसतर्फ प्रस्थान गरेको जनाएको हो ।
तालिबानको नियन्त्रणमा अझै नरहेको अफगानिस्तानका केही क्षेत्रमध्येको पन्जशीर एक हो । राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर तालिबानविरोधीहरूको गढको रूपमा रहेको छ ।
त्यसको नेतृत्व अहिले पूर्वमुजाहिदीन कमान्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् । बीबीसीका अनुसार अलकायदाले ९/११ को अमेरिका आक्रमणको दुई दिनअघि अहमद शाह मसुदको हत्या गराएको थियो ।
तालिबानले आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै ‘स्थानीय अधिकारीहरू’ले शान्तिपूर्ण रूपमा पन्जशीर प्रान्त उसलाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि इस्लामिक इमिरेट्सका सयौँ मुजाहिदीनहरू त्यसलाई नियन्त्रणमा लिन जाँदै गरेको’ जनाएको छ ।