बाउँसोले हानेर छोराले गरे बाबुको हत्या

केन्द्रभाग मिडिया

पर्वत ।
पर्वतको एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमास्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् ।

घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै बसेका थिए भने मृतककी श्रीमती माईतीघर गएको बताईएको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा, लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।  मृतकको मोवाईल समेत टुक्राटुक्रा परेको छ भने भान्सामा समेत ढुंगाहरु देखिएका छन् ।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि घटना स्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ ।

अहिले मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

  • १९ आश्विन २०७८, मंगलवार १७:०७ प्रकाशित