दलित महिला जनप्रतिनिधी भन्छन् : ‘कोटाबाट हैन, हामीलाई खुल्लाबाट चुनाव लड्न दिनुपर्छ’

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरका वडाहरुमा रहेका दलित महिला जनप्रतिनिधिले आफुहरुलाई कोटाबाट नभई खुल्लाबाट चुनाव लड्न दिनुपर्ने माग गरेका छन् ।

स्थानीय तहका दलित महिला जनप्रतिनिधिको ४ वर्षीय कार्यकालबारे आज पोखरामा सम्पन्न अन्तरक्रियामा उनीहरुले यस्तो माग गरेका हुन् । दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा भएको उक्त अन्तरक्रियामा सहभागी जनप्रतिनिधीले आफुहरु नै भेदभावमा पर्ने गरेको भन्दै अबको चुनावमा आफुहरुलाई खुल्लाबाट चुनावमा आउन दिनुपर्नेमा जोड दिए।

अन्तरक्रियामा वडा ३२ की जनप्रतिनिधि सुनमाया नेपालीले दलित महिलालाई कोटाबाट हैन, खुल्लाबाट चुनावमा उठाउनुपर्ने माग गरिन् । दलित कोटाबाट आउँदा यीनीहरु दलितको प्रतिनिधी हुन् भनेर भेदभाव हुने गरेको उनले बताइन् । ‘भेदभाव हटाउनु छ भने दलित महिलालाई कोटाबाट हैन खुल्लाबाट आउन दिनुपर्छ’ उनले भनिन् ।

वडाको आन्तरिक द्धन्द्धले दलित महिला जनप्रतिनिधी सधैँ पछाडि पर्ने गरेको उनको भनाई थियो । दलित महिला जनप्रतिनिधी आर्थिकरुपमा कमजोर हुनाले पनि चुनावमा लगानी गर्न नसक्ने हुदाँ माथिल्लो तहमा लड्न गाह्रो भएको उनले बताईन । अब दलित महिला जनप्रतिनिधीलाई वडाध्यक्ष पदका लागि लड्न लगानी गर्नतर्फ लागी पर्नुपर्ने उनको जोड थियो ।

पोखरा महानगर वडा २१ की वडा सदस्य सीता विश्वकर्माले वडा भित्रै महिला जनप्रतिनिधीले दलित महिला जनप्रतिनिधीलाई गर्ने व्यवहार भेदभावपूर्ण हुने गरेको तितो अनुभव सुनाइन् । उनले भनिन्,‘दलितको आवाज उठाउने भनेर हामी जनप्रतिनिधीको यो स्थानमा छौँ, तर हामी नै भेदभावमा पर्छौ ।’

उनले वडामा हुने विभिन्न गतिविधि तथा कार्यक्रममा दलित महिला जनप्रतिनिधीलाई खबर गर्न समेत गाह्रो मान्ने गरेको बताइन् । दलितको उत्थानको लागि वडामा समन्वयकारी भुमिकाको अभाव भएको उनको भनाई थियो । वडामा दलित मैत्री कार्यक्रमका लागि बजेट पाउन कठिन हुने गरेको उनले उल्लेख गरिन् ।

उनले कठिनाईको बाबजुद पनि आफुले आफ्नो वडामा बाटो र पानीको व्यवस्था गरेको बताइन् । यस्तै आफ्नो कार्यकालको ४ वर्षमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निशुल्क शिक्षा, एकल महिलालाई रोजगारीको व्यवस्था गर्न आफु सफल भएको उनले सुनाइन् ।

यस्तै वडा १० की दलित महिला जनप्रतिनिधी प्रतिमा विश्वकर्माले दलितका लागि ल्याइने कार्यक्रममा दलितकै सहभागिता नहुँदा पिछडिनु परेको बताइन् । उनले भनिन्, ‘ वडामा लडेर म दलितका लागि कार्यक्रम गर्न बजेट माग्छु तर वडामा कार्यक्रम ल्याउँदा दलितलाई सहभागी गराउनै मुश्किल छ । उनीहरु आर्थिक कारणले पनि कार्यक्रममा सहभागी हुन सक्दैनन् । मेरो वडामा त झन् दलितको उपस्थिती शुन्य सरह नै छ। ’

यस्तै वडा १२ की विष्णु विश्वकर्माले दलित जनप्रतिनिधी कम संक्षम हुन्छन् भन्ने खालको व्यवहार वडामा हुने गरेको जनाइन् । आफुले दलित महिला जनप्रनिधिनी भएकै कारण धेरै चुनौती भोग्नु परेको उनले बताइन् । वडामा हुने कार्यक्रममा उच्च वर्गीय दलित महिला आउन नचाहाने र निम्न वर्गीय महिलालाई सहभागी गराउन कठिन हुने गरेको अनुभव उनले बाडिन् । समाजमा अझै पनि भेदभाव रहेको भन्दै उनले जनचेतनाका लागि दलित र गैरदलित दुवैलाई राखेर कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा वडा १७ की तारा परियार,वडा १९ की तारादेवी परियार, वडा २८ की कल्पना परियार, वडा न. ३ की सबि परियार लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा महिला जनप्रतिनिधीहरुले आफ्ना वडामा भएका प्रगती र काम गर्ने क्रममा आएका चुनौतीको बारेमा बोलेका थिए ।समानताबारे संवैधानिक व्यवस्थामा जति ऐन कानुन समावेश भए पनि दलित महिला जनप्रतिनिधी आफैँ भेदभावमा पर्ने गरेको बताए । वडामा आएको बजेट दलितका लागि छुट्याउन वडाध्यक्षहरुले अनकन गर्ने गरेको महिला जनप्रतिनिधीले गुनासो गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका भित्र रहेका वडाहरुका दलित महिला जप्रतिनिधिको सहभागिता रहेको थियो ।

आयोजक फेडो नेपाल कास्कीले बजेट समिक्षा जरुरी रहेको बताएको थियो । दलित महिलाको योजना लागु भए भएन भन्नेतर्फ ध्यान दिन पनि फेडोले सल्लाह दिएको छ । यस्तै गण्डकी प्रदेशमा दलित शसक्तिकरण बिलका बारेमा आवाज उठाउन आग्रह गरेको थियो ।

  • १९ आश्विन २०७८, मंगलवार १६:५० प्रकाशित