अवरोधकै बीच दलित आयोगको वार्षिक प्रतिवेदन पेस, अर्को बैठक असोज २२ मा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आजको प्रतिनिधी सभा बैठकमा दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधकै बिच सो प्रतिवेदन पेस भएको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७६-७७ पेस गरेका थिए ।

सो प्रतिवेदन पेस गर्दै आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरू वेल घेरेका थिए । एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बिजनेस अगाडि बढाएका थिए ।

एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनका सबै बैठकमा अवरोध गरेको छ ।सभामुख सापकोटाले प्रतिनिधिसभामा अवरोध भइरहेकाले सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै सदन सुरु गर्नका लागि आग्रह गर्दै आएका छन् ।

एमालेले भने पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको, माधव नेपालसहित १४ सांसद अवैधानिक रहेको भन्दै उनीहरूलाई निष्कासन नगरेसम्म अवरोध कायमै रहने अडान लिएको छ ।

  • १९ आश्विन २०७८, मंगलवार १३:४६ प्रकाशित