राष्ट्रिय फुटसल लिग : घरेलु टोली क्यासलको पहिलो हार

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।

हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट २२ अंक रहेको छ । क्यासलले ७ खेलमा जित, १ खेल बराबरी र १ खेलमा हार व्यहोरेको छ । उता राइजिङ भने जितसंगै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राइजिङको पनि कुल ९ खेलबाट १९ अंक रहेको छ । राइजिङले ६ खेलमा जित, २ खेलमा हार र १ खेल बराबरी खेलेको थियो । सोमबार भएको पहिलो खेलमा राइजिङका सुदिप गुरुङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

पाँचौ मिनेटमा रिवोस मास्केले अग्रता दोब्बर पारे । ८ औँ मिनेटमा क्यासलका सुमित श्रेष्ठले अग्रता घटाउने काम गरे । ११ औँ मिनेटमा विसन श्रेष्ठले राइजिङका लागि तेस्रो गोल गरे । १९ औैं मिनेटमा क्यासलका सुरेश बुढामगरले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि सोहि मिनेटमा राइजिङले १ गोल फर्काउँदै अग्रता कायम राखे ।

पहिलो हाफमा ४–२ को अग्रता लिएको राइजिङले दोस्रो हाफमा पनि थप २ गोल गर्न सफल रह्यो । खेलको २८ औँ मिनेटमा क्यासलका किशोर गुरुङले गोल गर्दै अग्रता घटाउने प्रयास गरे । ३१ औँ मिनेटमा विकु तामाङले गोल गर्दै राइजिङको जित लगभग निश्चित गरे ।
राइजिङका मिलनले ३८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित निश्चित गरे ।

क्यासलका दिपेश घलेले ४० औँ मिनेटमा क्यासलका लागि चौथो गोल गरे । खेलको म्यान अफ दि म्याच राइजिङका कप्तान दोर्जे तामाङ घोषित भए । हारसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले हार व्यहोर्दा दुख लागेको प्रतिक्रिया दिए । उनले मुख्य खेलाडीलाई जोगाउँदा हार व्यहोरेको बताए ।

राइजिङका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङले जितले प्लेअफमा आफ्नो स्थान सत् प्रतिशत बनाएको प्रतिक्रिया दिए । ‘आज खेलाडीले खासै मिहेनत गर्न परेन । क्यासललाई जितपनि हारेपनि असर पर्ने थिएन जुन हाम्रो लागि एडभान्टेज थियो’ उनले भने ।

यस्तै अर्को खेलमा मछिन्द्र स्काइ गोल्सले लुम्बिनीलाई ५–४ ले हरायो । १३ औं मिनेटमा मनोज राईले मछिन्द्रका लागि सुरुवाति गोल गरे । त्यसको १ मिनेटमै अर्थात १४ औं मिनेटमा सविन केसीले अग्रता दोब्बर पारे ।

मछिन्द्रले १९ औं मिनेटमा उपहार स्वरुप एक गोल पायो । लुम्बिनीका समिर मगरले आत्मघाति गोल गरे । खेलको २० औं मिनेटमा लुम्बिनीका देवशेष शर्माले गोल गरे । २३ औं मिनेटमा रुपेश बराइलीले गोल गर्दै अग्रता घटाए । तर, त्यो धेरैबेर टिक्न सकेन । २७ औं मिनेटमा सुभेत लामाले गोल गर्दै मछिन्द्रको अग्रता यथावत राखे । दिपेश सेन ठकुरीले ३० औं मिनेटमा गोल गरे ।

यस्तै लुम्बिनीका सुजन थापाले खेलको ३२ र ३९ औं मिनेटमा गोल गर्दै जितका लागि आशा जगाएपनि जित हातपार्न भने सकेन् ।
लिगमा ८ खेल खेलेको शंखमुल १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । फुटसल ५ धरानको पनि ८ खेलबाट १४ अंक रहेको छ । घरेलु टोली सविन मेमोरियलको पनि ८ खेलबाट १३ अंक रहँदै गोलअन्तरको आधामा पाँचौ स्थानमा रहेको छ ।

ढुकु फुटसल हबको भने १० अंक रहेको छ । खेलको म्यान अफ दि म्याच मछिन्द्रका सुभेत लामा घोषित भए । जितसंगै मछिन्द्रको कुल ९ खेलबाट १३ अंक रह्यो । ४ खेलमा जित ४ खेलमा हार र १ खेल बराबरी खेल्दै लिग तालिकाको छैटौं स्थानमा रहदै लिगबाट विदाइ भएको छ । लुम्बिनी भने यस अघिनै रेलिगेसनमा परिसकेको टिम हो ।

१० टिमको सहभागिता रहेको लिगमा ८ टिम ए डिभिजनमा रहेका छन् भने लुम्बिनी सहित झरना स्पोट्र्स क्लब रेलिगसनमा परेको हो । मंगलबार लिगको अन्तिम बाकि रहेका खेलहरु हुनेछन् । यस्तै प्रतियोगितामा पुर्व फिफा रेफ्रि एवम् रेफ्रिसंघका महासचिव लव खत्रीको निधनप्रति शोक समेत मनाएको छ ।

लिग संयोजक एवम् एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले खत्रीको निधन प्रति दुखद् व्यक्त गर्दै आत्मा चिरशान्तिको कामना गरे । खेलमा स्व. खत्रीको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारण समेत गरिएको थियो ।

 

  • १८ आश्विन २०७८, सोमबार १७:४० प्रकाशित