गर्भपतन गर्न पाउनुपर्ने भन्दै अमेरिकाको ५० वटै राज्यमा प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गर्भपतनमा रोक लगाउने कानुन विरुद्ध अमेरिकामा विरोध प्रर्दशन भएको छ । गर्भपतन महिलाको अधिकार बताउँदै सो विरुद्ध बनेको कानुन स्वीकार्य नहुने भन्दै अमेरिकाका महिलाहरुमा प्रर्दशनमा उत्रेका हुन् ।

महिलाहरुले ‘मेरो शरीर मेरो अधिकार लगायतका नारा लगाउँदै गर्भपतन अधिकारको मागमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन् ।

टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा महिलाहरू प्रदर्शनमा जुटेका हुन्।गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने महिलाहरुको माग रहेको छ ।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले रो भि वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने जनाइएको छ ।

गर्भपतनलाई कानुनी मान्यता भन्नेजस्ता नारा र संकेतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ‘मार्च पास’गरेका थिए।

गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए।

तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन्।हार्टविट एक्ट भनिएको नयाँ कानुनले छ हप्ता पछिको गर्भपतनमा संलग्न चिकित्सकमाथि मुद्दा चलाउन सक्ने अधिकार जोसुकै व्यक्तिलाई दिएको छ।

आगामी डिसेम्बर १ अमेरिकाको सर्वोच्च अदालतले मिसिसिपि राज्यमा १५ हप्तापछि गर्भपतनमा रोक लगाउने कानुन विरुद्धको सुनुवाइ तय गरेको छ।

  • १७ आश्विन २०७८, आईतवार १२:४९ प्रकाशित