आजदेखि भारतीय गाडीले पाए नेपाल प्रवेशको अनुमति, कोभिड प्रोटोकल अनिवार्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय यात्रुबहाक गाडीले नेपाल प्रवेशमा अनुमति पाएका छन । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय सवारीलाई नेपाल प्रवेशको लागि अनुमति दिएको छ । यो सँगै नेपालमा अब भारतीय यात्रु /पर्यटक मापदण्ड पालन गरि ओहोरदोहोर गर्न पाउने भएका हुन्

मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

विभागको अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको हो । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि शुक्रबारदेखि भारतीय गाडीका लागि नाका पनि खुलेको जनाइएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने छन् ।

भारतबाट नेपाल आउने यात्रुले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने बताईएको छ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ ।

नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र) ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

  • १५ आश्विन २०७८, शुक्रबार १५:४६ प्रकाशित