खसीबोकाको खरीद मूल्य निर्धारण

केन्द्रभाग मिडिया

दाङ । दाङमा ज्यूँदो खसीबोकाको खरीद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरीद मूल्यमा प्रतिकेजी रू। १५ र बोकाको खरीद मूल्यमा रू। ४५ ले वृद्धि गरिएको छ ।

बिहीवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रू। ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरीद मूल्य प्रतिकेजी रू। ५४५ निर्धारण गरिएको खसीबोका खरीद समितिले जानकारी दिएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रू। ५५० र त्योभन्दा माथिकोलाई प्रतिकेजी रू। ५३५ का दरले खरीद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रू। ५५० का दरले कम्पनीले खरीद गरेको थियो ।

गत वर्ष दशैँमा ८०१ ओटा खसीबोका काठमाडौं पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० ओटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरीद गरि काठमाडौं पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरीद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौं पुग्ने गरी पठाउने तयारी भएको छ ।

लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरीद गरेर सहुलियत दरमा विक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

  • १५ आश्विन २०७८, शुक्रबार १३:२३ प्रकाशित