गुलाब चक्रवातको वितण्डा : महाराष्ट्रमा १२ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गुमेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवातका कारण त्यहाँ कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ ।

अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो ।

प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बंगालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।

  • १४ आश्विन २०७८, बिहीबार ०७:५० प्रकाशित