ग्रिन जोन मनाङमा पर्यटकका लागि प्रवेश खुला, यी मापदण्ड पालन गर्नुपर्ने

केन्द्रभाग मिडिया

मनाङ ।

पर्यटकीय धार्मिक स्थल मुस्ताङमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रवेश दिएसँगै यता मनाङ पनि घुम्नको लागि खुला गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । स्वास्थ्य मापदण्डलाई पुरा गरी पर्यटकलाई प्रवेश खुला गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् ।

उनका अनुसार मनाङ प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड तयार पारिएको र पर्यटकले पूर्ण पालना गर्नुपर्छ । ‘कोभिड पूर्णरूपमा नियन्त्रणमा आएको छैन, सङ्क्रमण कम भएको हो, पूर्णरूपमा निर्मूल भएको होइन, सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ र पर्यटन व्यवसायलाई पनि चलायमान बनाउनुपर्छ’, प्रजिअ लामिछानेले भने ।

सङ्क्रमणका बाबजुद पनि थलिएको पर्यटन व्यवसाय चलायमान बनाउने प्रयासमा रहेको उनी बताउँछन् । ‘मनाङ प्रवेश नाकाबाट नै सुरक्षाको मापदण्ड पालना, कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएको छ वा छैन जाँच गरी प्रवेश गराउनेछौँ, यहाँ आउने विदेशी पर्यटकले होटल बुक गरेको छ वा छैन भनेर जाँचसहित प्रवेश दिनेछौँ’, उनले भने, ‘जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयको बैठकबाट निर्णय पारित गरी विदेशी पर्यटकलाई प्रवेश दिने तयारी गरिएको छ ।’

पर्यटकले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको प्रमाण, यहाँका होटलमा बुक गरेको प्रमाण र भ्रमणमा रहेका सबै पर्यटकले कोभिडको लक्षण देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्नेछ । कोभिड परीक्षणको नतिजा सकारात्मक भएमा आइसोलेशनमा बस्नुपर्नेछ । नयाँ भेरियन्टसहितको कोभिडको सम्बन्धमा ट्राभल वा ट्रेकिङ एजेन्सीमार्फत जिल्लामा आउने पर्यटकलाई यसबमोजिमको शर्तको पालना गर्ने÷गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ ।

  • १३ आश्विन २०७८, बुधबार १३:५० प्रकाशित