उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण : ‘पत्रकारितामा शुद्धीकरण जरुरी’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा भएको उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रममा पत्रकारितामा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिइएको छ ।पछिल्लो समय पत्रकारिता भड्किलो र छाडा बनिरहेको भन्दै पत्रकारीतामा शुद्धीकरणको जरुरी बताइएको हो ।

विश्वासको पात्रको रुपमा मानिदैँ आएको देशकै चौथो अंग भनिने पत्रकारीता क्षेत्र आफैँ आचारसंहितामा रहन नसक्दा आम नागरिकले पत्रकार र पत्रकारिता क्षेत्रमाथि औंला उठाउन थालेको भन्दै अभिमुखीकरण कार्यक्रममा पत्रकार समाजप्रति उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिइएको थियो ।

समाजिक दायित्व वहन गर्दै बालबालिका, महिला, जेष्ठ नागरिक, अशक्त, अपाङ्ग भएका तथा पिछडिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा सहयोग पुग्ने गरी सुचना सम्प्रेषण गर्न आग्रह गरिएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ कास्कीशाखाको संयोजनमा भएको उक्त कार्यक्रममा पछिल्लो समय कन्टेन्ट भन्दा नि भ्युजमा आधारित रहि सुचना तथा समाचार प्रकाशन-सम्प्रेषण गर्दा पत्रकारिता जगत बदनाम भएको बताइएका थियो ।

कार्यक्रममा पत्रकारले आफुलाई आफैले अंकुश लगाउनुपर्ने भन्दै प्रेस अधिकार र हकहितको विषयमा पार्टीभन्दा माथि उठ्न र राजनीतिक प्रभावबाट मुक्त पत्रकारिता गर्न पत्रकारलाई सुझाव दिइएको थियो ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय समितिका उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार जगत नेपालले उत्तरदायी पत्रकारिताको बारेमा बताएका थिए । कार्यक्रम पत्रकार महासंघ कास्की शाखाको भवनमा सम्पन्न भएको थियो ।

  • ७ आश्विन २०७८, बिहीबार १६:५० प्रकाशित