तनहुँ : स्पीड सवारी चलाउनेलाई कारबाही, राडर गनमार्फत गति मापन

केन्द्रभाग मिडिया

दमौली ।

तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो ।

दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो । प्रहरीको अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमध्ये ९ जना मोटरसाइकल, १ जीप र १ बस चालक रहेका छन् । प्रतिघण्टा किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । । प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीमा ४० प्रतिघण्टारकिलोमिटर गति निर्धारण गरेको छ ।

पृथ्वीराजमार्गमा यात्रा गर्ने ७० प्रतिशतभन्दा बढीले तीव्रगतिमा सवारी हाँक्ने गरेको कार्यालयले गरेको परीक्षणले देखाएको छ । राडर गनबाट गरिएको परीक्षणअनुसार मोटरसाइकल, प्राइभेट जीप, स्थानीय मिनीबस, खाली ट्रकलगायतले तीव्रगतिमा हाँक्ने गरेको पाइएको छ । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्नेबारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्नेछ।

  • ५ आश्विन २०७८, मंगलवार १३:४४ प्रकाशित