पोखरेल सरकारको सय दिन : २० किमी कालोपत्रे, १० किमी ग्राभेल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ ।

जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी भनेको छ ।

मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय र ११ वटा मन्त्रालयले गरेका कामलाई समेटेर सरकारले गण्डकी प्रदेश सरकारका सय दिन नामको पुस्तक नै सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सय दिनमा अनुभूती हुने गरी काम गर्न सम्भव नभए पनि सरकारले प्रयास गरेको बताए ।

पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारलाई विस्थापित गदैँ गएको जेठ २९ गते पदवाहाली गरेका पोखरेलले अघिल्लो सरकारले सुरुवात गरेका कार्यक्रमलाई जोड दिदै जनताका तत्कालका आवश्यकतालाई सम्बोधन गर्न प्रयास गरिएको बताए ।

सरकारले यो अवधिमा २० किलोमिटर सडक कालोपत्रे १० किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ । मुख्यमन्त्री पोखरेलले महिलामा लाग्ने स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार, बाढी तथा पहिरोबाट पीडितका लागि तत्काल उद्धार र राहातलाई मुख्य उपलब्धी रहेको बताए ।

उनले खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताए । कोभिडविरुद्ध पहिलो खोप ६ लाख १० हजार बढिले लगाएको र दोस्रो डोज ४ लाख ५३ हजार ८ सय ९७ जनाले लगाएको र मनाङ र मुस्ताङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको बताए ।

प्रदेशमा लगानी सम्मेलनका लागि तयारी छलफल, मन्त्रीहरुको आचारसंहिता स्विकृत, नीति तथा कार्यक्रम कार्यान्वयन, वार्षिक नीति तथा कार्यक्रमको कार्यान्वयन कार्ययोजना स्वीकृत, प्रदेशका महत्वपूर्ण आयोजना र मुख्यमुख्य आयोजनाको मुख्यमन्त्री कार्यालयबाट मिलाईएको अनुगमन व्यवस्थालई सय दिनको उपलब्धी मानिएको छ ।

स्थानीय निकायसंगको बैठक, प्रदेश विकास समस्या समाधान समितिको बैठक, दातृ राष्ट्रका प्रतिनिधिसंगको भेट लगायतका कामलाई सय दिनको उपलब्धि पुस्तिकामा उल्लेख गरिएको छ ।

कोरोना महामारीका बीच प्रदेश सरकारले लोकतन्त्र संस्थागत गर्न र जनताका पिरमर्र्का सम्बोधन गर्न इमान्दार प्रयत्न गरेको मुख्यमन्त्री पोखरेलले बताए । उनले जनतालाई केन्द्रविन्दुमा राखेर दैनिक सेवा प्रवाहलाई चुस्त र विकास प्रकृयालाई गति दिन प्रतिवद्ध रहेको जिकिर गरे ।

  • ४ आश्विन २०७८, सोमबार १५:०३ प्रकाशित