नेपालको उत्कृष्ट प्रदर्शन : ओमानलाई ७ विकेटले हरायो

केन्द्रभाग मिडिया

पोखरा ।
बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टू मा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् ।

जितसँगै नेपाल आठ खेलमा आठ अंकसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।

सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृंखला कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।

  • ३ आश्विन २०७८, आईतवार २१:१४ प्रकाशित