आईसीसी विश्वकप लिग २ : नेपालले अमेरिकालाई हरायो

केन्द्रभाग मिडिया

काठमाडौं  ।

नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई हराएको छ । कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको योगदानको बलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो । कुशलले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ९३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर आसिफ शेख २३, कप्तान ज्ञानेन्द्र मल्ल १७, कुशल मल्ल १ र विनोद भण्डारी ३७ रनमा आउट भए । विनोदले ४८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका निसर्ग पटेल र नोसठुग केनजिगेले २–२ विकेट लिए ।

यसअघि मोनाङ्क पटेलले शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो ।

पटेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका हुन् । उनी ठयाक्कै एक सय रनमा आउट भए । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् । निसर्ग पटेल २१ रनमा आउट भए । कप्तान सौरभ नेत्रभाल्कर ११ बलमा १३ रन बनाई अविजित रहे ।

  • २९ भाद्र २०७८, मंगलवार ०६:४६ प्रकाशित