राष्ट्र बैंकले दशैं-तिहारका लागि नयाँ नोट पठायो, कहिले र कतिसम्म साटही गर्न पाइने ?

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा नयाँ नोट पठाएको छ । तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।

यद्यपि,केही बैंकहरुले ढिला गरि नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।

बैंकका अनुसार दशैं तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।

  • २८ भाद्र २०७८, सोमबार १२:३३ प्रकाशित