स्याङ्जाका चार किसानलाई उत्कृष्ट पुरस्कार

केन्द्रभाग मिडिया

स्याङ्जा ।
कृषि ज्ञान केन्द्र स्याङ्जाले जिल्लाका चार उत्कृष्ट किसानलाई कृषि पुरस्कार सहित सम्मान गरेको छ । सम्मानित हुने किसानहरुमा भीरकोट नगरपालिकाका मौरी पालक किसान श्यामप्रसाद अर्याल, गल्याङ् नगरपालिकाका बीउ उत्पादक किसान चन्द्रकान्त डुम्रे, वालिङ् नगरपालिकाका तरकारी उत्पादक किसान हुमनाथ लामिछाने र पुतलीबजार नगरपालिकाका सुन्तला किसान रामबन्धु अर्याल रहेका छन् ।

सम्मानित हुने किसानहरुले ५ देखी ३० लाख सम्म कृषि उपजबाट आम्दानी गर्दै आएका छन् । जिल्लामा २० बर्षदेखि ३० बर्षसम्म निरन्तर कृषि पेशामा आवद्ध रहेका किसानहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मानित गरिएको हो । ज्ञान केन्द्र स्याङ्जाले सम्मान गरेका किसानहरु ब्यावसायिक रुपमा परिचित छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल, प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जनही १०÷१० हजार नगद सहित दोसल्ला ओढाई सम्मानपत्रद्धारा चारजना किसानलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले पहिला खानका लागि गरिने कृषि हाल ब्यवासायिक बनेकोमा खुशी व्यक्त गरे । स्याङ्जा अन्न, तरकारी र फलफूलका लागि उपयुक्त भएकाले कृषि मार्फत उद्यम र आयआर्जन बढाउन सकिने बताउदै प्रजिअ अर्यालले रोजगारकै निम्ति विदेशिन नपर्ने बताए । किसान बिनाको भविष्य कल्पना पनि गर्न नसकिने जनाउदै कृषिलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । रैथाने बाली संरक्षण गर्दै हाइव्रेड तथा आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्न प्रजिअ अर्यालको सुझाव थियो । कृषिमा भैरहेको राज्यको अनुदानको सहिसदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्दै आधुनिकता र यान्त्रिकरणको विकाससंगै मुलुकले फड्को मारेको बताए ।

सुन्तला सुपरजोन परियोजना संचालन समितिका अध्यक्ष बोधराज अर्याल, सम्मानित हुनुहुने किसान श्यामप्रसाद अर्याल, चन्द्रकान्त डुम्रे, हुमनाथ लामिछाने, रामबन्धु रेग्मीले आ—आफना कृषि कर्मका बारेमा जानकारी गराउदै कृषि पेशामै आफुहरु सन्तुष्ट रहेको बताएका थिए । जिल्लाको कृषिको अवस्थाका बारेमा जानकारी गराउदै कृषिप्रति राज्यको लगानी न्यून भएको कारण धेरैको कृषिमा आर्कषण बढ्न नसकेको गुनासो उनीहरुको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि बिज्ञ नारायणप्रसाद पाठकले स्वागत र बाली संरक्षण अधिकृत प्रतिमा कुँबरले संचालन गरेका थिए । केन्द्र प्रमुख बिनोद हमालको संयोजकत्वमा भेटेरिनरी डा. रुपेश श्रेष्ठ र वरिष्ठ कुषि विकास अधिकृत अजय अधिकारी सदस्य रहनेगरी उत्कृष्ट किसान छनौट समिति गठनगरी सोही समिति मार्फत किसान छनौट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

  • २५ असार २०८२, बुधबार १६:३६ प्रकाशित