मातृ शिशु मितेरी अस्पतालमा दुरबिन प्रविधिको सर्जिकल अपरेसन र डिआर एक्सरे सेवा विस्तार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित एक्सरे सेवा विस्तार गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बुधबार औपचारिक रूपमा सेवा शुभारम्भ गरे । पौडेलले सेवाको विस्तारसँगै बिरामीहरूका लागि आधुनिक प्रविधिमार्फत सर्जिकल अपरेशन सहज हुने उल्लेख गरे ।

अध्यक्ष पौडेलले ‘गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब रु ९७ लाख मूल्यको डी आर प्रणालीयुक्त शल्यक्रिया मेसिन जडान गरिएको जसले नाक–कान–घाँटी र स्त्रीरोगसम्बन्धी रोगहरूलाई छिटो र प्रभावकारी रूपमा उपचार गर्न सहयोग पुर्‍याउने जानकारी दिए।

छाला काट्नु नपर्ने, प्वाल पारेर अपरेशन गर्न सकिने र सेवा छिटो छरितो हुने भएकोले बिरामीहरूको अस्पताल बसाइ समय पनि घट्ने अपेक्षा गरिएको छ।

त्यसै गरि डीआर एक्सरे प्रणालीमा आधारित आधुनिक डिजिटल प्रविधिमा करिब ३४ लाखको लागतमा ५०० एम ए क्षमता हुने डि आर एक्सरे मेसिन समेत जडान गरिएको छ। यसले चिकित्सकलाई सबै प्रकारका जटिल एक्सरे परीक्षण गर्न र सबै अंगहरूको सहज, छिटो र स्पष्ट तस्वीर प्राप्त गर्न सकिने उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव ढकालले जानकारी दिए।

नवीनतम मेडिकल उपकरण र डिजिटल प्रविधि–सम्पन्न यी सेवागत सुधारले पोखराको मातृ–शिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा–क्षेत्रमा थप सशक्त बनाउने विश्वास डाक्टर ढकालले व्यक्त गरे ।

  • २५ असार २०८२, बुधबार १६:२५ प्रकाशित