म्याग्दीमा पहिरोमा पुरिँदा बुबाको ज्यान गयो, छोरा बेपत्ता

केन्द्रभाग मिडिया

म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बालक बेपत्ता भएका छन् ।

बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिए ।

दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेको प्रहरीले जानकारी दिएको छ । पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु बगाएको छ ।

उनका अनुसार बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ । बुधबार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थुनिएको थियो ।

  • २५ असार २०८२, बुधबार १५:५२ प्रकाशित