पोखरा।
जिल्ला समन्वय समिति कास्कीको समन्वय र कोपिला नेपालको आयोजनामा लैङ्गिक हिंसा व्यवस्थापनमा कानुनी सचेतना तथा सरोकारवालाहरूको भूमिकाू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका महिला जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन लैङ्गिक हिंसा व्यवस्थापन जिल्ला सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरेका थिए। प्रमुख पौडेलले कास्की जिल्लालाई हिंसा–रहित क्षेत्र बनाउने उद्देश्यले सबै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले लैङ्गिक हिंसासहित सबै प्रकारका हिंसा अन्त्य गर्न महिला जनप्रतिनिधिहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, महिलाको समानता सुनिश्चित गर्ने संवैधानिक र कानुनी व्यवस्था उपेक्षा गर्ने कार्य क्षम्य नहुने भन्दै यस्ता गतिविधिलाई रोक्न सरोकारवाला निकायहरू थप गम्भीर बन्नुपर्ने धारणा राखे ।
प्रमुख पौडेलले कानुनी सचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू सभ्य, सुसंस्कृत र सुरक्षित समाज निर्माणका लागि अत्यावश्यक रहेको बताए।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारको शून्य सहनशीलताको नीतिअनुसार महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसालाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याइने बताए। उनले हिंसाका सबै रूप न्यूनीकरण गर्दै उन्मूलन गर्न राज्यका सम्पूर्ण निकाय र जनप्रतिनिधिहरूको सामूहिक समन्वय र सहकार्य आवश्यक रहेकोमा विशेष जोड दिए।
कार्यक्रममा कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र राष्ट्रिय मानव अधिकार आयोग, पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले लैङ्गिक हिंसा व्यवस्थापनमा कानुनी सचेतना तथा सरोकारवालाहरूको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता मालले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला समन्वय अधिकारी नवराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।














