कुलिङ पिरियड छानबिन समितिको पहिलो बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने भएको हो ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।

नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा ९माओवादी केन्द्र०बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।

  • २४ असार २०८२, मंगलवार ११:१४ प्रकाशित