अदालतमा युनुस अन्सारीको बयान जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयानका लागि उनलाई उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  बताए । जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान चलिरहेको छ ।

अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।

अन्सारी १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । त्यसलगत्तै फेरि पक्राउ गरेपछि उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन समेत दिएका थिए ।

युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० जेठ २०७६ मा पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।

  • २२ असार २०८२, आईतवार १३:२५ प्रकाशित