काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको बताएका छन् ।शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन । सही नीति अवलम्बन गर्न सकेको छैन,’ उनले भने ।
वर्तमान सरकारलाई आफूहरूले साथ दिने कुरा नहुने हुँदा यसको पतन अनिवार्य भएको जिकिर गरे ।‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन । यसको पतन अनिवार्य छ । खाली हामी पर्खनुपर्ने हुन्छ । आत्तिनुपर्ने अवस्था छैन,’ अध्यक्ष नेपालले भने, ‘हामी देशैभर अधिवेशन गरिरहेका छौं । एक दुई वटा प्रदेशमा मात्रै बाँकी छ ।’
सत्तारुढ दल नेकपा एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम अनुमान लगाउन नसकिने खालको भएको बताएका छन् ।
एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गएको र त्यसको भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिने अवस्थामा नरहेको बताए ।
‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन,’ अध्यक्ष नेपालले भने ।














