पोखरा ।
पोखरा विमानस्थल परिसरमा पोखरा हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले हवाई इन्धन गृह निर्माण सम्पन्न भएको बिहिबार डिपो परिसरमा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
नेपाल आयल निगम लिमिटेडले पहिलो पटक सतप्रतिशत स्वदेशी सीप र पुँजीमा पोखरामा यो डिपो निर्माण सम्पन्न गरेको दाबी गरेको छ । ७५ करोड रुपैयाँ (भ्याट बाहेक) मा निर्माण भएको यस डिपोको उद्घाटन साउनको दास्रो हप्तासम्ममा गरिने परियोजनाका प्रमुख ई. सुदीप कुमार यादवले जानकारी दिए । उनले नेपाल आयल निगमको ५५ वर्षको वर्षको इतिहाँसमा आफ्नै देशको पुँजी र आफ्नै देशको प्राविधिक जनशक्तिले निर्माण भएको यो पहिलो परियोजना रहेको टिप्पणी गरे ।
डिपो निर्माणसंगै यहाँबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमानलाई आवश्यक पर्ने हवाइ इन्धन उपलब्ध गराउन सहज भएको छ । ९ हजार २१५ बर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गरेको हो ।
कन्सल्टेन्ट हेड नारायण गौतमका अनुसार २ चैत २०७७ मा हवाइ इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो । तर, विविध कारणले डेढ बर्षपछि २९ कात्तिक २०७९ मा मात्रै निर्माण कार्य अघि बढाउन निर्माण व्यवसायीसंग सम्झौता भएको थियो । लगत्तै, १५ पुस २०७९ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाँडामा लिने बिषयमा सम्झौता भएको थियो ।

तत्कालिन् उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले १ साउन २०८० मा निर्माण कार्यको शिलान्यास गरेका थिए । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै यहाँ १२ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कूल तीन हजार ६ सय किलोलिटर हवाइ इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएका प्रबन्धक ई. अशोक आर्यालले जानकारी दिए ।
उनका अनुसार भर्टिकल स्टोरेज ट्यांकको उचाई १२ मिटर र ब्यास पनि १२ मिटर रहेको छ । त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरीपरी जडान गरिएको फायर फाइटिङ संरचनलाई आवद्ध गरिएको छ । जसकारण, डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मदत मिलेको छ ।
पोखरा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन सुरोज लामिछानेले नेपालकै लगानी र नेपालकै विज्ञले निर्माण गरेको डिपोले तोकिएको समयभन्दा छिटो बनेको परीयोना भन्दै यसले देशकै आत्मविश्वास र आफ्नै देशका प्राविधिक अनि प्रविधि प्रति विश्वास गर्ने आधार बनेको बताए ।
हवाइ इन्धन जस्तो प्रज्वलनशील पदार्थको कारोबार हुँदा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटनालाई निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ ।
यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुई वटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प, ८ इन्चको पाइप जडित रहेको सहायक प्रमुख अनुपम पराजुलीले जानकारी दिए ।















