कञ्चनपुरमा भारी वर्षा : ‘रेड अलर्ट’ जारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी भएको छ । वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११:५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

  • १६ असार २०८२, सोमबार १३:०२ प्रकाशित