पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले फिर्के खोलाघरमा बनेका संरचना छिट्टै हटाइने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको बृक्षारोपण कार्यक्रमको शनिबार विहान प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यस कार्यमा सहयोग गर्नसमेत स्थानीयलाई आग्रह गरे । विगतमा १० मिटर मापदण्ड रहेकोमा स्थानीय र सरोकारवालाकै कुरा सुनेर महानगरले मापदण्ड ६ मिटरमा झारेको स्मरण गरेका उनले छुट्याइएको खोलाघरबाट संरचना कुनैपनि हालतमा हटाइने प्रष्ट पारे । ‘स्थानीय र सरोकारवालाको आग्रहलाई स्विकार गरेर मापदण्ड ६ मिटरमा झारिएको हो । यसको कार्यान्वयनमा दायाँबायाँ हुँदैन’ उनले भने ।
उनले फिर्केमा ढल नमिसाउन र फहोर नफाल्न समेत आग्रह गरेका छन् । फिर्केखोलालाई स्वच्छ र हरियालीयुक्त बनाइने उनले बताए । पोखरा महानगरपालिकाले ‘ग्रीन सिटी क्लिन सिटी’ अभियान चलाएको र यो अभियानलाई सफल पार्न दुई लाख २६ हजार विरुवा रोप्ने कार्यक्रमलाई अगाडि बढाइएको उनले जानकारी दिए ।
उनले आफ्ना अग्रजको सम्मान र स्मरणमा बृक्षारोपण गर्नसमेत आह्वान गरेका छन् । साथै आफूले रोपेका विरुवाको संरक्षण पनि सकेसम्म आफूले नै गर्न उनले आग्रह गरे । ‘आफ्ना अग्रजको सम्मान, अग्रजको स्मरणमा रुख रोप्नुहोस् । त्यसलाई हुर्काएर सम्मान प्रकट गर्नुहोस् । वातावारण सफा गर्नका लागि पनि योगदान अनि अग्रजको सम्मान पनि संगै हुन्छ’ उनले भने ।

४ साउन देखि २ भदौसम्म २०८० मा भएको नाप जाँचपछि महानगरलाई बुझाइएको प्रतिवेदनमा १ सय ६० संरचना फिर्के खोलाघरमै बनेको पाइएको थियो । ति संरचना हटाउन पोखरा महानगरपालिकाले १० कात्तिकमा २०८० मा ३५ दिने सूचना निकालेकोमा २४ कात्तिक २०८० मा उच्च अदालत पोखराले ताल घरका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएको थियो । गत १६ पुसमा न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको इजलासले त्यो रिट खारेज गरिदिएसंगैं महानगरलाई खोला घरमा रहेका संरचना हटाउन बाटो खुलेको छ ।

शनिबार पोखरा महानगरका प्रभुख धनराज आचार्य वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल, वडानम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, नागरिक अभियान्ता रामबहादुर पौडेल र स्थानीय आमा समूह, टोल विकास संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुले बृक्षारोपण गरेका हुन् ।
वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले सडकको दायाँबायाँ विभिन्न जातका ५० विरुवा रोपिएको जानकारी दिए । वातावरणीय स्वच्छताका लागि वडा कार्यालय लागि परेको र महानगरको अभियानको साथमा रहेको उनले बताए । यस्ता अभियानलाई आगामी दिनमा पनि अगाडि बढाइने उनले बताए ।














