फेवा तालको मापदण्ड कायम गर्न थालिएको पिल्लर गाड्ने काम जारी

केन्द्रभाग मिडिया

पोखरा ।

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो ।

जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म ३६० पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए। बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गरेका छन् ।

निरीक्षणका क्रममा उनले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताए । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेका छन् ।

एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उनले बताउए । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सबैप्रति उनले आभार पनि व्यक्त गरेका छन् । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ ।

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।

  • १२ असार २०८२, बिहीबार १६:०६ प्रकाशित