कोइलीले सञ्चालनमा ल्यायो थप दुई सिल्पर सुविधासहितको बस

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत रहेका व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधा सम्पन्न यात्रुबहाक बस सञ्चालनमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा विगत ७ महिनादेखि पोखरा भक्तपुर स्तरीय सिल्पर बस मार्फत रात्रिकालिन सेवा दिइरहेको कोइली ट्राभल्सले अब दिवा सेवा दिनेगरी नयाँ थप दुई बस सञ्चालनमा ल्याएको छ ।

पोखराको हेम्जादेखि भक्तपुरसम्म सञ्चालन हुनेगरी थप दुई सिल्पर रहेकोे एसीसहित सोफा बस आइतबार विहानदेखि सञ्चालनमा ल्याएको हो । बस सेवाको पोखरा महानगरका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले आइतबार गरेका हुन् । शुभारम्भ गर्दै उनले देशकै पर्यटकीय राजधानी पोखरा सुविधास सम्पन्न यात्रुबहाक बसहरु थपिँदै जानु सुखद पक्ष रहेको बताए । निजी क्षेत्रले नै अर्थतन्त्र चलायमान गराएको चर्चा गरेका उनले हेमजावासीलाई पनि अब सेवा रोजेर लिने अवसर प्राप्त भएको बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले यात्रुलाई सवारीसाधनमा चढाएपछि गन्तव्यसम्म सुरक्षित रुपमा सुविधासम्पन्न सवारी साधन मार्फत पुर्याउन स्तरीय सवारी साधन उपलब्ध रहेको बताए । कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठीका अनुसार आइतबार विहानबाट सुरु दिवा सेवा दिने बसमा ५ जनाले सुतेर यात्रा गर्न पाउने छन् भने २८ वटा सोफासहितको सुविधायुक्त सिट रहेका छन् ।

यात्रुले खाजा र पानीसहितको सुविधा प्राप्त गर्ने कोइली ट्रभल्सका अर्का सञ्चलक अशोक कुमार चौधरीले जानकारी दिए । उनका अनुसार शौचालयको सुविधा भित्रै रहेको सो बसमा सेवा लिन यात्रुले एक हजार ६ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

  • ८ असार २०८२, आईतवार २२:३६ प्रकाशित