धरौटीमा रिहा भएसंगै मिश्रले भने, ‘न्यायप्रणालीमा विश्वास बढ्यो’

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा रिहा भएका छन् । उनी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मंगलबार तीन लाख धरौटीमा रिहा भएका हुन् । रिहा भएसंगै उनले नेपालको न्यायप्रणालीमा विश्वास बढेको प्रतिक्रिया दिएका छन् । राज्यविरुद्धको कसुर, भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मिश्रले अदालत परिसरमै सञ्चारकर्मीसँग भने, ‘राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ। अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा विवेक प्रयोग गर्दो रहेछ। नेपालको न्यायलयमाथि एकदम दृढ विश्वास बढेको छ । हामीलाई राज्यले जुन किसिमको आरोप लगायो । दोषि करार गर्नका लागि जसरी राज्य पक्षबाट आरोपहरू लगाइयो, त्यो दुखदायी थियो । अदालतले न्याय दिएकोमा खुसी छु । यो मुद्दाको बारेमा बढी टिप्पणी नगरौँ । हामी असाध्यै खुसी छौँ ।’

मिश्र अदलातबाट निस्कँदा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सँगै थिए । उनी पनि यही मुद्दामा सोमबार मात्रै तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।

गत १५ चैतमा काठमाडोँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँसहित ७ जना भने कारागार चलान भएका छन् । ३४ जना रिहा भएका हुन् । यो घटनामा संलग्न रहेको आरोपमा ६५ जनाविरुद्ध विभिन्न मुद्दा चलाइएको छ ।

  • ३ असार २०८२, मंगलवार १९:३७ प्रकाशित