पोखरा ।
पोखरा महानगरपालिका वडा नं-२५ ले हालसम्मको प्रगति, बिकास निर्माण र आगामी आर्थिक वर्षको बजेटको विषयलाई लिएर वडाका राजनीतिक दल र पूर्ववडाध्यक्षहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा वडालाई उत्कृष्ट र समुन्नत बनाउन महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त भएका महानगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार वडाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी शिक्षा केन्द्रित बजेट ल्याउने तयारी छ । वडा भित्रका ९ वटै सामुदायिक बिधालयका बालबिकाश कक्षालाई बालमैत्री बनाइने र अतिरिक्त क्रियाकलाप सिकाउने २ जना घुम्ती शिक्षकका लागि आवश्यक बजेट बिनियोजन गर्ने उनले बताए ।
भौतिक पुर्वाधार तर्फ अधुरा र बिपद्जन्य योजनालाई प्राथमिकतामा राखिएको, ग्रामीण क्षेत्र र कुनै पनि योजना नपरेका टोलहरुलाइ प्राथमिकतामा राखी सडक, ढल, सिचाइ, वडाको सौन्दर्यकर्ण, उज्यालो वडा आदिका लागि आवश्यक बजेट बिनियोजन वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
लक्षित वर्गका लागि आत्मनिर्भर र सक्षम बनाउन आयमुलक र सिपमुलक कार्यक्रम संचालन गर्न आवश्यक बजेट छुट्याउने तयारी भएको छ।
यसैगरी स्वास्थ तर्फ स्वीकृत सहरी स्वास्थ प्रबर्द्धन केन्द्रमा मेडिकल अधिकृत (डाक्टर) र उच्चस्तरीय ल्यावको व्यवस्था भैसकेको, ल्याबलाई छिट्टै संचालनमा ल्याउने र बिमा कार्यक्रम संचालनको लागि पहल गरिने र घुम्ती शिविरको रुपमा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ लाई निरन्तरता दिने उनको भनाई छ।
कृषि तर्फ ‘एक घर एक घार मौरी’ को योजना संचालन भैरहेकोमा यसलाई थप प्रभावकारी बनाउन मौरी शिक्षा र मौरीपालन तालिम संचालन गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि हाटबजार स्थापनाका लागि आवश्यक तयारी गर्ने, युवा लक्षित कार्यक्रम, खेलकुद पर्यटन बिकास र युवा रोजगार लक्षित कार्यक्रम र मेला महोत्सव सहयोगका लागि पनि बजेट बिनियोजन गर्ने उनले बताए ।
यसैगरी वन तथा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रबर्द्धन, सर्प र लाटोकोसेरो संरक्षणका लागि वडा पन्छी र वडा सर्प घोषणा गरि लोपोन्मुख वन्यजन्तुको संरक्षण गरिने उनले बताए । यसमा थप सल्लाह र सुझाव समेत वडाध्यक्ष तिमिल्सिनाले वाडावासीसंग मागेका छन् ।















