गृहमन्त्रीको राजीनामा र छानबिन नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

केन्द्रभाग मिडिया

काठमाडौँ । प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सङ्घीय संसद् चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी राजनीतिक दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन्

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बताएको जानकारी दिए । ‘खासगरी सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’ पाण्डेले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताए ।

सभामुख घिमिरेले २० गतेबाट सुचारु हुने बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।

  • १६ जेष्ठ २०८२, शुक्रबार १५:२० प्रकाशित