पोखरा ।
पोखरा-३३ पुष्पवस्ती भरतपोखरीमा पोखरा महानगरपालिकाको सहकार्यमा सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा आएको छ।
विभिन्न प्रकारका हिंसाबाट प्रभावित महिला तथा किशोरीहरूका लागि सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा आएको हो ।
सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर जेठ १६ गते उक्त पुर्नस्थापना केन्द्रको उद्घाटन भएको हो । यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापनतर्फ अग्रसर गराउने एक सशक्त प्रयास भएको महानगर प्रमुख धनराज आचार्यले बताए ।
सामाजिक सरोकारका विषयमा पोखरा महानगरपालिका निरन्तर प्रतिवद्ध रहने आचार्यले बताए ।उक्त उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख सुरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।उनले यस पुर्नस्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
उक्त पुर्नस्थापना केन्द्र सञ्चालनका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका, सामाजिक विकास कार्यालय, कास्की, तथा जिल्ला प्रशासन कार्यालय, कास्कीको सहकार्य गरेको हो ।














