परिसर मात्र खुलेको रत्न मन्दिर दरबार नखुल्दा देखिएन रौनक

दुई वर्षमा २६,६३२ जनाले गरे अबलोकन, २४ लाख ४६ हजार आम्दानी

गोविन्द सुवेदी

पोखरा ।
लामो प्रतिक्षा पछि ठिक दुई वर्ष पहिले १५ जेठ २०८० मा रत्न मन्दिर परिसर खोल्दा सो मन्दिरको भित्रीभाग पनि अबलोकनका लागि छिट्टै खोलिने प्रतिवद्धता जनाइएको थियो । तर, त्यसको दुई वर्ष पूरा हुँदापनि अझै रत्न मन्दिर दरबार खुल्न सकेको छैन । टिकट काटेर जाने पर्यटक तत्कालिन राजाहरुको हिउँदे दरबारको रुपमा चिनिने रत्न मन्दिरको चहुर, तालघर र पूर्वराजा र युवराजहरुले चढ्ने केहीे थोत्रा बोट मात्र हेरेर चित्त बुझाउन बाध्य छन् ।

दुई वर्षको यो अबधिको गत वैशाख मसान्तसम्ममा जम्मा २६ हजार ६३२ जना आन्तरिक तथा बाहीय पर्यटकले अबलोकन गरेका नेपाल ट्रष्ट रत्नमन्दिर इकाईका प्रमुख मीनप्रसाद लामिछानेले जानकारी दिए । जसमा आन्तरिक पर्यटकको संख्या मात्र २६ हजार ११७ छ ।
आन्तरिक पर्यटक मध्येपनि विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएकाहरुको मात्र संख्या ७ हजार १२४ रहेको छ । उनका अनुसार जम्मा ५०९ जना विदेशीले यस अबधीमा रत्नमन्दिर परिसरको अबलोकन गरेका छन् ।

रत्न मन्दिरको परिसर खुलेको सुरुवात (टिकट काट्न थालिएको १६ जेठ) देखि सोही महिनाको मसान्तसम्म मात्रै ६ हजार ३६० जना सर्बसाधारण नागरिकले परिसर अबलोकन गरेको देखिएको छ । त्यसबाहेक एक हजार ७०६ जना विद्यार्थीले परिसरको अवलोकन गरेका थिए । सुरुवातको १५ दिनमा ४७ जना विदेशी नागरिकले रत्न मन्दिर परिसरको अबलोकन गरेको देखिन्छ ।

सुरुका दिनहरुमा केही आकर्षण भएपनि अहिले क्रमस रत्न मन्दिर परिसरमा अबलोकनकर्ता घट्दै गएको प्रमुख लामिछाने बताउँछन् । उनका अनुसार रत्न मन्दिर परिसर खोलिएपनि मुख्य दरबार नखोलिँदा चहुर र त्यहाँको वातावरण मात्र अबलोकन गर्न पाउँदा बाहिर राम्रो सन्देश नै जान पाएन । साथै रत्न मन्दिर परिसर खोलिएको विषयमा बाहिर राम्रो प्रचारप्रसान नै नगरिँदा पनि अबलोकनकर्ताको संख्यामा क्रमस कमी आएको हो ।

रत्न मन्दिर परिसर अबलोकनका लागि स्वदेशी नागरिकका लागि एक सय रुपैयाँ, विदेशी मध्ये छिमेकी भारत र चीनका नागरिकका लागि २०० रुपैयाँ, भारत बाहेक सार्क राष्ट्रका लागि २५० रुपैयाँ, विदेशी (छिमेकी र सार्क राष्ट्र बाहेक) लाई ३०० रुपैयाँ र विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएकाहरुका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । साथै कसैले भिडियो खिच्न चाहेमा पूर्व स्विकृति लिएर ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी व्यवसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा १० हजार रुपैयाँ शुल्क लिनुपर्ने र त्यसका लागि पूर्व स्विकृति अनिवार्य रहेको प्रमुख मीनप्रसाद लामिछानेले जानकारी दिए ।

रत्न मन्दिर परिसर अबलोकन गर्नजाने स्वदेशी सर्वसाधारण, विद्यार्थी, जेष्ठ नागरिक एवं अपांगता भएका अवलोकनकर्ता र विदेशी अबलोकनकर्ता बाट बैशाखसम्म जम्मा २४ लाख ४६ हजार ६०० रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये भिडियो अहिलेसम्म ६ जनाले खिचेका छन् । यसरी उठेको राजश्व नेपाल ट्रष्टको केन्द्रीय खातामा दैनिक रुपमै जम्मा गरिने गरेको लामिछानेले बताए ।

न मूख्य दरबार खोलियो, न मर्मत नै गरियो

तत्कालिन राजा महेन्द्र शाहले कान्छी रानी रत्नको नामबाट २०१५ सालमा रत्न मन्दिरको निर्माण गरेका थिए । यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका थिए । महेन्द्रपछि राजा बनेका वीरेन्द्र शाह र उनको बंश नास भएपस्चात राजा भएका तत्कालिन राजा ज्ञानेन्द्र शाहले समेत पोखरा आउँदा उपयोग गर्ने दरबार हो रत्न मन्दिर । तत्कालिन राजा वीरेन्द्रको दरबार हत्याकाण्डमा बंश नास गरिएसंगै र गणतन्त्र स्थापना भएसंगै तत्कालिन राजा र राजपरिवारमा भएको सम्पूर्ण जग्गा नेपाल ट्रष्टको नाममा ल्याइएको छ ।

अहिलो सो जग्गाको रेखदेख, संरक्षण र उपयोग पनि नेपाल ट्रष्टले नै गर्ने गरेको छ । गणतन्त्र स्थापना पछि पोखरामा रहेको रत्नमन्दिर र हिमागृहलाई उपयोग गर्ने विषयमा विभिन्न ढंगले छलफल भए । दुबै ठाउँलाई ठेक्कामा दिन लागिएको चर्चा चल्ने र त्यसको विरोध हुने क्रम पनि बढ्यो । यसै बीच झण्डै २ वर्ष अगाडि गणतन्त्र दिवश अर्थात १५ जेठ २०८० मा ११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरको परिसर स्वदेशी र विदेशीलाई समेत अबलोकन गर्न मिल्ने गरी खोलियो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले एक कार्यक्रमकाबीच रत्न मन्दिर खुल्ला गरेका थिए ।

प्रमुख मीन प्रसाद लामिछानेका अनुसार रत्नमन्दिर जीर्ण हुँदै गएको छ । त्यस भित्रका सामग्रीहरुलाई पनि थप सुरक्षीत गर्नुपर्ने छ । यसो गरेर सुरक्षीत बन्ने निस्चित भएपछि मात्र दरबारको भित्रिभाग अबलोकन गर्न दिने नीति भएपनि मन्दिरको मर्मतसंहार र त्यसभित्र रहेका सामग्री सुरक्षित गर्ने कार्य अगाडि बढ्न नसक्दा रत्नमन्दिर नखोलिएको हो ।

यसको लगत्तै पुननिर्माण गर्नुपर्ने संरचना पुननिर्माण र आवश्यक सुरक्षा प्रबन्ध मिलाएर रत्न मन्दिर खोल्ने बताइएपनि अहिलेसम्म त्यस सम्बन्धी चासो दिइएको छैन । रत्न मन्दिरको आवश्यक मर्मतसंहार समेत हुन नसक्दा भवन जीर्ण बन्दै गएको छ । स्थानीय, पोखरा महानगरपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीहरुको प्रयास पछि रत्न मन्दिरको परिसर खोलिएको भएपनि त्यसपछि भने यसको बेवास्ता हुँदै आएको छ ।

रत्न मन्दिर र परिसरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् ।

  • १६ जेष्ठ २०८२, शुक्रबार १२:४९ प्रकाशित