गृहमन्त्रीको राजीनामाको अडानमा विपक्षी दलहरु, प्रतिनिधिसभाको बैठक स्थगित

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहमति जुटाउन दलहरूसँग गरेको छलफल निस्कर्षमा पुग्न नसकेपछि । संसद् सचिवालयले दोस्रोपल्ट सूचना टाँस गरेर संसद् बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

छलफलमा प्रतिपक्षी दलहरूले संसद् बैठकमा राखेको मागबाट पछि नहट्ने अडान यथावत राखेका थिए । उनीहरूले बिहान बसेको बैठकमा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने आडान लिएका थिए ।

प्रतिपक्षीहरूले गृहमन्त्रीको राजिनामा माग गर्दै संसद्मा नाराबाजी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । निर्धारित आधा घण्टामा बैठक बस्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ः३० बजेसम्मका लागि बैठक सारेको थियो ।

पहिलो पटक सूचना टाँस गरेर तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफल निष्कर्षविहीन भएपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बस्ने गरी स्थगित गरिएको हो।

  • १३ जेष्ठ २०८२, मंगलवार १७:०८ प्रकाशित