पोखरामा पर्यटक बोलाउन पश्चिम जाँदै पृथ्वी होटल व्यवसायी समिति

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी होटल व्यवसायी समितिले ‘पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रम गर्ने भएको छ । व्यवसायीको टोेली प्रर्वद्धन कार्यक्रमसहित सोमबार त्यस तर्फ प्रस्थान गर्ने पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ ले जानकारी दिए ।

उनका अनुसार टोलीमा पत्रकार, पर्यटनविद, सल्लाहकार, होटल व्यवसायी तथा सरोकारवाला प्रतिनिधि सहभागी हुने छन् । टोलीले पर्यटन प्रर्वद्धन भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायी, स्थानीय सरकार, उद्योग वाणिज्य संघ र पत्रकारहरुसंंग अन्तरक्रिया गर्ने छ ।

देशकै पर्यटकीय राजधानी घोषित पोखरालाई पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको छ । यस अबसरमा पोखराका होटल र रेष्टुरेण्टहरुमा २० छुट दिइएको र पोखराका अरु पर्यटन संघसंस्थाले समेत विभिन्न प्याकेजमा छुटको घोषणा गरेका छन् । यस विषयमा समेत भ्रमणको अबसरमा जानकारी दिइने पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान सल्लाहकार बालकृष्ण न्युरेले जानकारी दिए ।

समितिकी सल्लाहकार एवं होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय सदस्य सुनिता पन्त पौडेलले आफूहरुको प्रर्वद्धनात्मक भ्रमणले पोखराका साथै सिंगो गण्डकी प्रदेशकै प्रर्वद्धनमा सघाउ पुग्ने बताइन् ।

गत वर्ष पृथ्वी होटल व्यवसायी समितिले सम्पूर्ण सदस्य होटल व्यवसायीहरूसंग सहकार्य गर्दै बाग्मती, मधेस र कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूमा अध्ययन भ्रमण तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

त्यसैको सफलतालाई निरन्तरता दिँदै यस वर्ष ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारालाई आत्मथ गर्दै यो कार्यक्रम आयोजना गरिएको प्रर्वद्धनात्मक कार्यक्रमका संयोजक विदुर ढुंगानाले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोगमा यो कार्यक्रम गर्न लागिएको हो ।

  • ११ जेष्ठ २०८२, आईतवार १८:५६ प्रकाशित