प्रतिपक्षीले प्रतिगामीको प्रतिबाद गर्दा सरकारलाई राहत : अध्यक्ष प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीको गतिविधिमा वर्तमान सरकार मुकदर्शक बनेर बसेको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत शुक्रबार साँझ पोखरामा प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सरकार मुकदर्शक बसेको बेला समाजवादी मोर्चाले प्रतिगामी शक्ति विरुद्ध प्रतिवाद गर्दा सरकारलाई राहत मिलेको उनले टिप्पणी गरे । ‘राजावादीहरु, प्रतिगामीहरुले गतिविधि गर्दा सरकार मुकदर्शक बस्यो । हामीहरुले समाजवादी मोर्चाको नाममा काठमाडौंमा विशाल सभा गर्यौं । यसले सरकारमा रहेकाहरुलाई राहतको महसुस् भएकै छ । त्यसैको प्रतिक्रिया स्वरुप प्रधानमन्त्रीजीले नै मोर्चाको भव्य सभा भनेर संसदमा बोले’ उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरामा आएर आफूहरुको अभियानलाई राजावादीसंग साँठगाँठको अभियान भनेको कतैबाट सुनेको उल्लेख गर्दै ‘यदी त्यसरी भनिएको हो भने म प्रधानमन्त्री जीलाई एक पटक मेन्टल हस्पिटलमा गएर चेकजाँच गर्न सल्लाह दिन्छु’ भनेका छन् ।

अध्यक्ष प्रचण्डले जनजागरण अभियानमा अपार जनताको साथ र समर्थन पाएको उल्लेख गर्दै जनताका मागलाई संगालेको र सरकारसंग गएर माग अगाडि सार्ने बताए । बजेट मार्फतमा यी कूरा परेनन् भने गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिनेसम्मका काम गर्ने उनले उल्लेख गरे ।

सरकारले नसुने अभुतपूर्व जनताको सहभागीता भइरहेको दाबी गरे । उनले आफूहरुको अभियान सम्पूर्ण देशभक्तिपूर्ण जनताको अभियान बन्न पुगेको बताए । उनले स्थानीय तहमा एमाले र कांग्रेसका सरकार रहेका ठाउँमा पनि स्वागत समेत भएको उल्लेख गरे ।

  • ९ जेष्ठ २०८२, शुक्रबार २२:०० प्रकाशित