एमाले अग्रगामी पार्टी भएकाले घेराबन्दी गरियो : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अग्रगामी पार्टी भएकै कारण घेराबन्दी गरेर प्रहार भइरहेको बताएका छन् । पोखरामा शुक्रबार पार्टी निकट युवासंघको दशौं राष्ट्रिय महाअधिवेशनको उद्घाटन गर्दे उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक र बाहीय शक्तिहरुको एमाले केन्द्रिकृत भएर यसको नेतृत्व माथि चर्को हमला गरिरहको उल्लेख गरे । यद्यपी उनले आन्तरिक र बाहिय कुन शक्तिले प्रहार गरिरहेको हो भन्ने भने खुलाएनन् । प्रधानमन्त्री ओलीले एमालेले अलिकति गल्ति गरेको भए ध्वस्त परिसकेको हुने समेत टिप्पणी गरेका छन् ।

एमालेको योगदानलाई विर्साउन विभिन्न बहानामा जनता भड्काउने प्रयास भएको उनको भनाई छ । ‘एमालेको नेतृत्व माथि केन्द्रित प्रहार गरेर अनुचित लाल्छना लगाउने र त्यस मार्फत जनतालाई भ्रम पारेर अलग्याउन खोज्ने प्रयास भइरहेका छन् ।’ उनले भने, ‘एमालेले नेतृत्व गरेका बेला विगतमा आसाधारण काम गरेको छ । त्यसलाई विर्साएर जनतालाई भड्काउन खेजिएको प्रयासलाई प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

उनले आफूले अघिल्लो पटक सरकारमा रहँदा देशमा ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको र कतिपय बनेको प्रसंग सुनाउँदै आफू सरकारबाट हटेपछि काम अलपत्र पारिएको सुनाए ।

प्रधानमन्त्री ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनलाई उरन्ठेउलो केटोको संज्ञा दिँदै नेपालमा राजतन्त्र फर्कने सपना देखेर वर्षा याममा भ्यागुताले जस्तो ट्यार ट्यार नगर्न भनेका छन् । ‘एउटा उरन्ठउलो केटोले देशमा राजा ल्याउने र प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको व्यवस्था गरिएको भनेछ । मैले ठ्याक्कै कसले भन्यो भन्ने त मेसो पाइन, तर यस्ता प्रयास भएका छन्’ उनले भने ।

  • ९ जेष्ठ २०८२, शुक्रबार १६:३१ प्रकाशित