भारतको उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको उत्तर प्रदेश राज्यमा बुधबार राति र बिहीबार बिहानको बिचमा आँधीबेहरी र वर्षाले सम्पूर्ण राज्यमा ताण्डव मच्चाउँदा हालसम्म ५१ जनाको ज्यान गएको छ । रूख र पर्खाल ढलेर भएका दुर्घटनामा ५१ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पोल भाँचिएपछि बिजुलीको आपूर्ति अवरुद्ध भएको छ । बुलन्दशहरमा ८९ किलोमिटर प्रतिघण्टा र मेरठमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा आँधीबेहरी चलेको थियो। आगरा र अलीगढ क्षेत्रसँगै, राज्यका अन्य पूर्वी क्षेत्रहरूमा पनि ५० देखि ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। यसका कारण धेरै क्षेत्रमा टिनका र खरको छाना उडाए ।

राजधानी लखनऊ सहित अवधका १२ जिल्लामा बुधबार राति आँधीबेहरीसँगै भारी वर्षा भएको थियो । अम्बेडकर नगरको कुसुमखोर गाउँका ४८ वर्षीय अजय सिंहको चट्याङ लागेर मृत्यु भएको छ । पर्खाल भत्किँदा अमेठीको मैनझर गाउँकी ५९ वर्षकी सीतापति र अयोध्याको रुदौली निवासी ५५ वर्षका सूर्यकलाको मृत्यु भएको छ । ब्रजमा पनि १७ जनाले ज्यान गुमाए । जसमध्ये आगरामा तीन जना र कासगंजमा चार महिलासहित ६ जनाले ज्यान गुमाएका छन् ।

इटाहमा पाँच जना, फिरोजाबादमा दुई महिला र टुन्डलामा एक बच्चाको ज्यान गएको छ । बन्दौनको बिल्सीमा भत्किएको पर्खालको भग्नावशेषमुनि पुरिएर एक महिलाको ज्यान गएको छ ।

मुरादाबादमा आँधीबेहरीको समयमा हावा चल्दा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । कानपुर र वरपरका क्षेत्रहरू र बुन्देलखण्ड जिल्लाहरूमा २२ जनाको ज्यान गएको छ ।

आजमगढको अत्रौलियामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । हाथरसमा एक युवकको मृत्यु हुँदा अलीगढमा एक वृद्धाको ज्यान गएको छ । यसबाहेक पश्चिम उत्तर प्रदेशको मेरठमा एक र बागपतमा दुई जनाको ज्यान गएको छ ।

  • ९ जेष्ठ २०८२, शुक्रबार १३:३० प्रकाशित