काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभई बोलीबाट आएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले नेपालमा गणतन्त्र बुलेटबाट नभई ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको बताए ।
‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो । बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो । माओवादीहरूले बुलेटबाट गणतन्त्र ल्याउँछौँ भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले,’ मन्त्री गुरुङले भने ।
अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर नै भएको उल्लेख गर्दै उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको बताए ।














