काठमाडौं ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेको सत्ता समिकरण बदल्ने बारे कुनै सोच र योजना नबनाएको प्रष्टाएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठबपछि सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पारेका हुन्।
उनले सरकार परिवर्तनबारे कांग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गरे । उनले माओवादीका अध्यक्ष प्रचण्डले पार्टी सभापतिको गृह क्षेत्रमा गएर फोन गर्नु संयोग मात्र भएको टिप्पणी गरेका छन् । ‘अहिले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेण्डा छैन ।
सरकार परिवर्तनका बारेमा कांग्रेसले कुनै सोच र योजना बनाएको छैन,’ उनले भने, ‘प्रचण्डले सभापति देउवाको गृहक्षेत्रबाट फोन गर्नु संयोग मात्र हो । यस्तो फोन यस अगाडि अहिलेका प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले पनि गर्नुभएको थियो ।’
उनका अनुसार संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले बताए ।
उनले भने, ‘बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो ।’
बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिए ।
अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताए ।














