अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको छ : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।‘एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो,’ उनले भने, ‘फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त ?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै नयाँ कार्यक्रम ल्याइएको चर्चा गरे ।

उनले नयाँ समीकरणबाट नयाँ सरकार बनेको भए पनि पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत र सान्दर्भिक कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

‘हामी सबैलाई थाहै छ, सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकै कारण सरकारले आफ्ना नीति सार्वजनिक गर्दा, पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत तर सान्दर्भिक नीति तथा कार्यक्रमलाई निरन्तरता दिन्छ, दिनुपर्छ र दिइएको पनि छ । केही माननीय सदस्यहरूका ‘प्रस्तुत नीति कार्यक्रम–उही र उस्तै’ भन्ने टिप्पणीलाई यसै सन्दर्भमा बुझिदिन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।

  • २८ बैशाख २०८२, आईतवार १४:५३ प्रकाशित