काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए ।
त्यसक्रममा प्रचण्डले व्यक्त गरेको बिचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस्,’ योगेशले भनेका छन् ।
संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने ? भन्ने उनको प्रश्न छ ।
झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ । कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन उनको विपक्षी दलहरूलाई आग्रह छ ।














