पोखरा ।
वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले पोखरामा कोटिहोमका नाममा ठूटो हुनेगरी चौतारमा रहेका बर, पिपल र स्वमी लगायतका रुखहरु काट्ने उपर कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर खबरदारी गरेको छ । उनीहरुले डिभिजन बन कार्यालय कास्कीलाई छानबिनको प्रक्रियाको बारेमा जानकारी माग गरेर खबरदारी गरेका हुन् ।
गत २०८१ माघको तेस्रो हप्ता पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित वर, पिपल, समी लगायत धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्वका बोटवृक्षहरू ठूटो पार्ने र ऐतिहासिक चौतारी नष्ट गर्ने गतिविधि सम्बन्धमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कार्यकक्षमा सरोकारवाला निकाय लगायत नागरिक समाज कास्की समेतको उपस्थितिमा बैठक बसेको थियो ।
उक्त बैठकले दोषीमाथि कानुनी कारबाही गर्न डिभिजन वन कार्यालय कास्कीलाई छानबिनका लागि क्षेत्राधिकार दिने गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा सिफारिस गरिपठाउने निर्णय गरेको थियो । सो निर्णयका बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको भन्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले डिभिजन बन कार्यालय कास्कीमा ‘अनुसन्धान अधिकृत कसलाई र कहिले तोकिएको हो ? म्याद अवधि कहिलेसम्म तोकिएको हो ? हालसम्म प्रतिवेदन तयार भई सम्बन्धित अधिकारी समक्ष बुझाइयो वा बुझाइएन ?’ भन्दै जानकारी माग गरेका हुन् ।
सम्पदाको रुपमा चौतारामा रहेका बर, पिपल र समी काट्टिएको जस्तो सम्बेदनशील विषयलाई गम्भिरतापूर्वक लिएको नपाएकाले यस विषयमा किन प्रक्रिया अगाडि बढाइएन भनेर आफूहरुले निवेदन पेश गरेको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक पौडेलले जानकारी दिए । वन, वातावरण तथा भू(संरक्षण मन्त्रालय, गण्डकी, मुख्य न्यायाधिवक्ताको कार्यालय, पोखरा, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरा, जिल्ला प्रशासन कार्यालय, कास्की र जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीलाई समेत पत्रकोे बोधार्थ पठाइएको उनले जानकारी दिए ।














