एमाले सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज आइतबार दिउँसो बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गर्ने मुख्य विषय रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेका थिए । सोही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै छ ।

‘आजको मुख्य विषय नीति तथा कार्यक्रम र बजेट नै हो’,एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अरू समसामयिक विषयमा छलफल पनि हुन्छ ।’

एमाले नेताहरूका अनुसार एमालेले यसअघि कारबाही गरेका दुई नेता बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारबाही फुकुवाबारे समेत छलफल हुने सम्भावना छ ।

एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पुस १० गतेको सचिवालय बैठकले ६ महिना निलम्बन गरेको थियो । तर उनीहरूको कारबाहीलाई लिएर एमाले नेताहरूले नै असन्तुष्टि जनाएकाले उनीहरूको कारबाही फुकुवाबारे छलफल हुनसक्नेछ ।

  • २१ बैशाख २०८२, आईतवार १०:४७ प्रकाशित