पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जमिन कति छ भन्ने सबै एकीन भएको र अब त्यसको संरक्षणको काम अगाडि बढ्ने बताएका छन् । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा १ टुंडिखलको ४५ औं वार्षिकोत्सव एवं केन्द्रले निर्माण गरेको आवासीय क्रियाकर्म भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरा उपत्यका नगरविकास समितिको समेत अध्यक्ष रहेका उनले महानगर भित्र पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको १५ सय रोपनीभन्दा बढी जमिन सबै नापजाँच गरेर सकेको जानकारी दिए । सरकारी जग्गामा थुप्रै व्यक्तिले घर बनाएका र सरकारी भवन समेत बनेका पाइएको उनले बताए । धेरै ठाउँमा अधिग्रहण गरेर बसेका जमिनमा अतिक्रमण भएको पनि पाइएको उनले बताए । कतिपय सरकारी संरचना बनेका घरमा समेत व्यक्तिको जग्गा रहेको पाइएको उनले स्मरण गरेका छन् ।
खानेपानीले १० रोपनी जग्गा २५ वर्षदेखि ओगटेको पाइएको उनले बताए । एकैपटक सबै काम नहुने भन्दै उनले विस्तारै यसलाई योजनावद्धढंगले व्यवस्थित गर्दै लगिने प्रतिवद्धता पनि जनाएका छन् ।
जतिपनि सार्वजनिक जमिन छ त्यसको संरक्षण गर्न महानगरपालिका प्रतिवद्ध रहेको उनले बताए । नेपाल सरकारले ४० वर्षभन्दा लामो अबधि भोगाधिकार दिइएको विषयलाई खारेज गरेको जानकारी दिँदै अब हिजोको भोगाधिकार पाएको भनेर नहुने बताए ।
भोगाधिकारको विषयमा हिजोको नभई आजको कानून अनुसार सम्झैता गर्नुपर्ने उनले सम्झाएका छन् । ‘हिजो भोगाधिकार पाएका थियौं भनेर हुँदैन, आजको कानुन अनुसार नयाँ सम्झौता गर्नुपर्छ,’ उनले भने, ‘त्यो औचित्यका आधारमा हुन्छ ।’
प्रमुख आचार्यले पोखरामा विभिन्न दातृ निकायको सहयोगमा विभिन्न परियोजना अगाडि बढाइएको भन्दै त्यसको प्रभाव विस्तारै देखिँदै जाने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, लायन्स क्लव अफ ३२५ बी एमका डिस्ट्रि गभर्नर चण्डी प्रसाद आर्याल, इन्द्रेणी एकीकृत विकास केन्दका पूर्वअध्यक्ष एवं संस्थापक राजेन्द्ररमण पराजुली, केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, पूर्वअध्यक्ष एवं सल्लाहकार खगेन्द्रराज पराजुली, सचिव बास्तोला लगायतले बोलेका थिए ।
शनिबार उद्घाटन भएको क्रियापुत्री भवन प्रदेश सरकार, महानगरपालिका, वडा नम्बर १ र विभिन्न सहयोगमा हालसम्म एक करोड ३५ रुपैयाँ लागतमा निर्माण भएको इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए ।
उनका अनुसार दुईतले भवन निर्माणसंगै विगतमा वाल लगाउने, जमिन पुर्ने, तारजाली लगाउने, सम्याने र तारजाली लगाउने लगातका काम भएका छन् । क्रियापुत्री भवनमा एकैपटक तीन परिवारसम्मले सेवा लिन सक्ने पूर्वाधार रहेका उनले जानकारी दिए ।














