काठमाडौै ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट कुनै पनि सुविधा नदिने चेतावनी दिएका छन् ।
शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरूका मागबारे आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् । उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह भत्ता दिने निर्णय गरेको र उक्त निर्णय अनिवार्य रूपमा मान्नुपर्ने बताए ।
निर्णय कार्यान्वयन नगर्ने हो भने राज्यसँगको सबै सम्बन्ध टुट्ने र सम्बन्धनसमेत खारेज हुन सक्ने चेतावनी मन्त्री पौडेलले दिए । हप्तामा ७२ घण्टा काम गर्ने, किरिया बिदा, सरकारी बिदाको व्यवस्था गर्न मन्त्रालय सकारात्मक रहेको पनि उनले बताए ।
मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरूप स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह — ४८ हजार ७ सय ३७ रुपैयाँ — दिने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन गर्नैपर्छ । अहिले नमान्नेलाई त अहिलेका लागि हो, तर अनन्तकालसम्म नमान्न पाइँदैन । नमान्ने हो भने राज्यसँगका सबै सम्बन्ध टुट्छन्, सम्बन्धन खारेज हुन्छ ।’















