पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ ढाँडवेसीमा विगतमा तोरीको उत्पादन राम्रो नहुँदा निराश बनेका किसान यसवर्ष तरबुजा लगाएर राम्रो उत्पादन भएपछि उत्साहित भएका छन् । विगतदेखि मणिदीप कृषि फर्म चलाएका स्थानीय रोशनराज बरालले पोहोर पोखरा महानगरको सहयोगमा तरबुजाको परीक्षण गरेका थिए । परीक्षणमै उत्पादन राम्रो भएपछि उनले यसपाली १३ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरेका छन् ।
सरस्वती जातको तरबुझा लगाएका उनले यसपाली कहिले तरबुजा तयार हुन्छ भनेर ग्राहकले बुझ्न थालेको जानकारी दिए ‘अघिल्ला वर्षहरुमा तोरी खेती गरिन्थ्यो । उत्पादन राम्रो नहुँदा निराश हुनुपर्ने अवस्था थियो । पोहोर महानगरको सहयोगमा तरबुजा उत्पादनको परीक्षण गर्यौं । राम्रो फल्यो । अहिले १३ रोपनीमा लगाएको तरबुजा अब बजारमा लैजाने बेला भएको छ । बजारमा नलैजाँदै अहिले ग्रहकले कहिले उत्पादन हुन्छ भनेर सोध्न थालिसक्नु भएकोछ’ उनले भने ।
पोहोर उत्पादन भएको तरबुजा खेतबाटै बिक्री भएको उनले सुनाए । ‘पोहोर परिक्षणको क्रममा राम्रो उत्पादन भयो, उत्पादन भएको तरबुजा बजार लानै परेन’ बरालले भने ‘महानगरको सहयोग र सहकार्यमा खेतमै तरबुजा खाने प्रतियोगिता समेत गरियो । त्यसले गर्दा बजार लानै परेन, यसपटक पनि मानिसहरुले ढांडबेशीमा तरबुजा कहिले तयार हुन्छ भनेर फोन आइरहन्छ ।’ आफुहरुले २० बैशाखदेखि बिक्री बितरण सुरु गर्ने जानकारी दिए ।
तरबुजासंगै करिब ३ रोपनी क्षेत्रमा कांक्रा खेती गरिएको र कांक्रो भने चैतको अन्त्यमा नयाँबर्षसंगै बिक्री वितरण गरिसकेको उनले बताए । अघिल्लो पटक राम्रो आम्दानी लिएका किसानहरुले यसपटक खर्च कटाएर १५ लाख जति आम्दानी गर्ने लक्ष्य राखेका छन ।
अनुगमनको क्रममा ढाँडबेँसी स्थित तरबुजा बारीमा पुगेका पोखरा महानगर आर्थिक बिकास महाशाखा तथा कृषि बिकास शाखाका प्रमुख मनहर कडरियाले पोखरा १३ मा पछिल्लो समय कृषि उत्पादन राम्रो भएको बताए । अघिल्लो वर्ष परिक्षणको लागि लगाइएको तरबुजाले राम्रो उत्पादन दिएपछि यसपटक कृषकहरुले धेरै जग्गामा तरबुजा खेती लगाएको र राम्रो उत्पादन भइरहेको बताए ।
महानगरले तरबुजाको बिउ, मल्चिङ प्लाष्टिक र असिना छेक्ने जाली समेतप्रदान गरेको र अघिल्लो पटक भन्दा यसपटक ढांडवेसीमा सिंचाइ समेत राम्रो भएकाले उत्पादन राम्रो हुने कंडरियाले बताए ।
आफूहरुले पोखरामा उत्पादन शुरु भएको सरस्वती जातको तरबुजालाई ब्राण्डिङ गरेर बजारमा ल्याउने तयारी भइरहेको समेत बताए । पोखराको विभिन्न वडाहरुमा यो वर्ष तरबुजा खेती गरिएको र उत्पादन समेत राम्रो हुने आशा गरिएको उनले बताए ।















