बित्तीय सुशासन जोखिम मुल्यांकन

जिसस कास्कीको मुल्यांकनमा कुन पालिकाको अंक कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) को नतिजा सार्बजनिक गरेको छ ।

जिसस कास्कीले मंगलबार एक कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अंकभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत,अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत,पोखरा महानगर पालिकाले ४७.५ प्रतिशत र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्बजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको बित्तीय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे ।

प्रमुख पौडेलले ४० प्रतिशत भन्दा तल उच्च जोखिम, ४० प्रतिशत बाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० प्रतिशतभन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी बर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताए।

बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे । उन्नत खालको सुशासन उत्कृष्ट बित्तीय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो।

कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल र जिल्ला समन्वय अधिकारी नबराज बरालले विविध पक्षमा जानकारी दिएका थिए भने गाउँपालिकाका प्रमुख , उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, संचारकर्मी र सरोकारवालाहरूको रहको जनाइएको छ ।

  • १६ बैशाख २०८२, मंगलवार १४:४६ प्रकाशित