पोखरा ।
नेपाल सरकारको प्राथमिकता प्राप्त पोषण कार्यक्रम अन्तरगत राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि पोखरा महानगरपालिका लगायत देशभर सुरु भएको छ । आइतबार सम्म अभियानका रूपमा सञ्चालन हुने उक्त कार्यक्रमको महानगर क्षेत्रमा नगरप्रमुख धनराज आचार्य र नगर उपप्रमुख मन्जुदेवि गुरुङले शुभारम्भ गरे ।
पोखरा महानगरपालिका क्षेत्रका करिब ३० हजार बालबालिकाहरूलाई यो अभियानमा सहभागी गराउने लक्ष्य लिइएको नगर प्रमुख आचार्यले बताए । बालकालिकाहरुको सुरक्षित र स्वस्थ जीवनका लागि भिटामिन ए र जुकाको औषधी अनिवार्य रूपमा खुवाउन उपप्रमुख गुरुङले अनुरोध गरिन । महानगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक भिटामिन ए क्याप्सुल र जुकाको औषधी लगायत बालभिटा समेतको प्रबन्ध मिलाइएको महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।
स्वास्थ्य महाशाखाको व्यवस्थापनमा सञ्चालन हुने यस अभियानका क्रममा महानगरपालिका मातहतका सबै स्वास्थ्य संस्थाहरू लगायत तोकिएका केन्द्रहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुद्धारा ६ देखि ५९ महिना उमेरका बालबालिकाहरूलाई भिटामिन ए र १२ देखी ५९ महिनासम्मका बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने पोषण कार्यक्रमका प्रमुख सत्यराज साँखीले जानकारी दिए ।
यस क्रममा बालबालिकाहरूको पाखुराको नाप जाँच पश्चात पोषण अवस्थाको यकिन गरी ६ देखि २३ महिनासम्मका बालबालिकाहरूलाई बालभिटा समेत प्रदान गरिनेछ ।















